काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो बिहीबार शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनेछन् ।
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका दुई सय ७० जना सांसदले हिजो शपथ लिएका थिए । तर सांसदहरु महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई भने हिजो शपथ लिन अनुपस्थित थिए ।
शपथ लिन बाँकी रहेका मध्ये आले पारिवारिक शोकमा र राई सुत्केरी भइ अस्पतालमा रहेकी छन् । उनिहरुले आफ्नो अनुकूलतामा शपथ लिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । अस्ति बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले राष्ट्रपतिबाट शपथ लिएका थिए ।