काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहिबार बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसरा शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो । माओवादी केन्द्रको संसदीय दलको बैठकले बिहीबार अपराह्न प्रतिनिधि सभाको संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत चयन गरेको थियो ।
प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको तर्फबाट छैटौं पटक दलको नेतामा निर्वाचित भएका छन् । अध्यक्ष नेपाल दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम उनीहरुबीच सत्ता सहकार्यका विषयमा छलफल भएको हो ।
नेताहरूले चुनावपछि समेत सत्ता गठबन्धनकै नेताले सरकारको नेतृत्व गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । आजको छलफलमा पनि आगामी सरकार निर्माणलगायत शक्ति बाँडफाँडमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी सरकारमा कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपतिमा दावी गरिरहेको छ भने माओवादीले पनि पहिले सरकारको नेतृत्वमा दावी गरिरहेको छ । सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँडसमेत शीर्ष नेताको छलफलका एजेन्डा रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा नजिकिरहेको छ । सत्तारुढ दलहरु शक्ति बाँडफाँडमा सहमति गरेर सरकार निर्माणमा सक्रियता देखाएका छन् । आगामी आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दावी गर्न समय दिइएको छ ।