कामठाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छन्। बिहीबार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले एकातिर व्यापार घाटा, निरन्तर बढीरहेको र अर्कोतिर आयातमाथि निर्भरता विस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्।आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताउँदै राष्ट्रपति भण्डारीले चुनौतीहरुबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभूत उद्देश्य बनाउनु पर्नेमा जोड दिइन्।
मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताए।
उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरुलाई प्रेरित गर्न उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्न आवश्यकता रहेको बताइन्।
उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्नसके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिनेमा उनको जोड थियो।
राष्ट्रपति भण्डारीले किसान र उद्योगीहरुले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइन्। उनले मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य स्थानको खोजी गर्न आवश्यक रहेको बताइन्।