काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बताएका छन्।
बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन्।
उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए।
उनले भने, ‘राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ। वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ। राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ। मैले देखेको दुईजना हुनुहुन्छ। रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ।’
उनले आगामी सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताए। उनले भने, ‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ। जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ। अरुको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ। नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो।’