बैतडी। बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ।
बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको थियो।
बिमला कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्दै आएकी आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको प्रजाले स्वीकार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते राति बिमला बोहरा शौचालय जान्छु भनेर बाहिर निस्केकी रहेछन्। तर, ढिलो गरेपछि प्रजा (पति) ले खोजी गर्दा शिक्षक बिष्टले अँगालोमा देखेछन्। त्यसपछि प्रजाले बिष्टलाई मुक्का हानेर ढलाएको बताएका छन्। प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्।’
यस्तै, छात्रवासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने प्रहरीले बताएको छ।