काठमाडौं। बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन्। बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १२ वटा विमानस्थलमा मात्र इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान भएको छ भने बाँकी २५ वटा विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ। यी २५ वटै विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
भिएफआर सिस्टममा तीन हजारदेखि पाँच हजार मिटर दूरीको भिजिबिलिटी हुनुपर्ने हुन्छ। आइएफआर सिस्टमका उडानका लागि आठ सय मिटरसम्म भिजिबिलिटी जरुरी हुन्छ।
विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ। उडान नहुँदा जहाजमा आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन्।