काठमाडौं। संघीय संसदका जेष्ठ सदस्य पशुपति शम्सेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिने विशेष समारोह कम्युनिष्ट पार्टीका शिर्ष नेताहरूबीच भलाकुसारी भएको छ।
बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति शम्शेर जबरालाई ज्येष्ठ सदस्यका रुपमा शपथ खुवाएकी थिइन्।

उक्त कार्यक्रममा कम्युनिष्ट पार्टीका शिर्ष नेताहरूबीच भलाकुसारी भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भलाकुसारी भएको तस्बीर ओलीको सचिवालयले सार्वजनिक गरेको छ।

सार्वजनिक फोटोमा ओली र प्रचण्डसँगै हिँडेको तथा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेको देखिन्छ।
एक समय नेकपाका शिर्ष नेता रहेका ओली, प्रचण्ड र खनालबीच उक्त पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध छ। उनीहरुले सार्वजनिक कार्यक्रममा मार्फत एकअर्काको कडा आलोचना गर्ने गरेका छन् भने केही सार्वजनिक मञ्चमै सँगै भए पनि बोलेका थिएनन्।

नेकपा विभाजनपछि ओली, प्रचण्ड र खनाल छुट्टाछुट्टै पार्टीमा छन्। उनीहरुबीच भेटघाट खास्सै भएको छैन।
चुनावलगत्तै ओलीले बधाई दिन प्रचण्डलाई फोन गरेका थिए, भेट भने भएको थिएन।
