सोलुखुम्बु। थुलुङ दूधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा भएको आगलागीमा चार करोड ७२ लाख बराबरको क्षति भएको छ।
मङ्गलबार साँझ स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा पाँच वटा घर जल्दा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार आगलागीबाट बुद्धिबहादुर कार्की, रमेश बस्नेत, गणेश बस्नेत र कल्पना बस्नेतको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने प्रणय राईको घरमा सामान्य क्षति पुगेको छ।
आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको रमेश बस्नेतको तीनतले घरसहित किराना पसल, मोबाइल पसल पूर्णरुपमा जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो भने बुद्धिबहादुर कार्कीको ढुङ्गामाटोले बनेको र टिनको छानो भएको तीन तले घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबर रुपियाँ क्षति भएको छ।
त्यस्तै, गणेश बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको तीनतले घरसहित भित्र रहेको मोबाइल पसल जलेर नष्ट हुँदा एक करोड रुपैयाँ र कल्पना बस्नेतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको तीनतले घरसहित भित्र रहेको फेन्सी पसल र मोबाइल पसल जल्दा एक करोड ४० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहले बताए।
त्यसैगरी प्रणय राईको तीन तले पक्की घरमा सामान्य क्षति पुग्दा दुई लाख रुपियाँ बराबरको नोक्सान भएको छ। साँझ साढे पाँच बजेबाट सुरु भएको आगो सोलुदूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीय लगायतको पहलमा राति ८ बजे पूर्ण नियन्त्रणमा आएको थियो।