बागलुङ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध भण्डारण मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले घर्तीलाई आइतबार दोषी ठहर गरेको हो ।
२०७७ असार १२ मा निसीखोला–६ को वडाध्यक्ष हुँदा घर्ती ८० किलो गाँजासहित घरबाटै पक्राउ परेका थिए । गाँजा भण्डारण गरेको आरोपमा लागूऔषध कसुरसम्बन्धी ऐन, २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ मा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा फैसला गर्दै अदालतले घर्तीको घरबाट बराबद गाँजाको प्रयोगशाला परीक्षण गर्न पनि भनेको छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजासहित पक्राउ गरेको थियो ।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई पक्राउ गरेपछि उनीहरूले दिएको सुकारीको आधारमा खोजी गर्दै जाँदा घर्तीको घरमा गाँजा भेटिएको थियो । मुद्दा दायर भएपछि झन्डै ३ महिना पुर्पक्षका लागि थुनामा बसेपछि घर्ती धरौटीमा रिहा भएका थिए । घर्तीले भने घर वरपर उम्रिएको गाँजाको बोट नष्ट गर्न बोरामा हालेर राखेको जिकिर गर्दै आएका छन् ।
घर्तीलाई दोषी ठहर गरे पनि अदालतले सजाय भने तोकिसकेको छैन । मुद्दा विचाराधीन अवस्थामा रहेका घर्ती गत वैशाख ३० मा सम्पन्न निर्वाचनमा निसीखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
घर्ती अहिले फरार छन् । फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति सार्वजनिक पदमा बहाल रहन नसक्ने कानुनी व्यवस्था छ । त्यस्तो अवस्थामा उनको पद स्वतः निलम्बन हुनेछ ।