काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको छ ।
मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ ।
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।