कास्की । पर्यटकीय नगरी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्राकृतिक रूपमा दर्जनौँ पर्यटकीय गन्तव्य रहेको यस पोखरामा पछिल्लो समयमा मानव निर्मित पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पनि थपिएपछि आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेष भूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले पोखरामा पर्वतीय सङ्ग्रहालय सञ्चालनमा ल्याइएको हो ।
हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको पर्वतीय सङ्ग्रहालय पर्यटहरुको रोजाइमा परेको छ । यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक पर्यटकहरूको संख्या बढ्दो रूपमा रहेको सङ्ग्रहालयका गाइड विजय कुमार लामाले बताए । अहिले दैनिक हजारौँ पर्यटकहरु आउने गरेको सङ्ग्रहालयका गाइड लामाले जानकारी दिए ।