धनगढी। धनगढी उपमहानगरपालिका–९मा गोली चलेको छ।
वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान २ः४५ मा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन्।
गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले दुई राउण्ड गोली चलेको बताए। उनले गोली चलाउने व्यक्तिको पहिचान नभएको बताए। गोलीका खोकाहरु फेला परेको उनले बताए।
दुई वर्षअघि तस्करको समूहले यसै क्षेत्रमा दुई जना प्रहरीको हत्या गरेका थिए। आइतबार साँझ कैलालीको अत्तरियामा पनि अज्ञात समूहले सुनचाँदी व्यवसायीलाई गोली हानेका थिए। गोली लागेर घाइते विकास सुनारको अहिले उपचार भइरहेको छ। गोली चलाउनेको अहिलेसम्म पहिचान खुलेको छैन। गोली प्रहारपछि सुनारसँग भएको झोला लिएर उनीहरु फरार छन्।
यो घटना सेलाउन नपाउँदै धनगढीमा फेरि गोली चलेको हो।