काठमाडौँ । उपचारको सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् ।
पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसो १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् ।
यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन् ।