काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ।
मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गर्न लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।
यसका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेको उनले बताए।उनले सडक प्रयोग गर्ने यात्रुलाई बन्द गर्ने समयको विषयमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे।
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने बताइएको छ। सात महिनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माण गर्ने गरी काम अगाडि बढाएको आयोजना प्रमुख कार्कीले जानकारी दिए।