काठमाडौं। नवनिर्वाचित सांसदहरूले आगामी बिहीबार शपथ खाने भएका छन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बिहीबार दिउँसो १ बजे संघीय संसद् भवनमा शपथ समारोह हुने जानकारी दिए।
नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ।
मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ। सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ। नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ।
