काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले माफी मागेका छन् । उनीविरुद्ध ६ राजनीतिक दल एक ठाउँमा उभिएपछि उनले माफी मागेका हुन् । मेयर साम्पाङले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् ।
गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको भन्दै माफी मागेका छन् ।
‘मिति २०७९–८–२८ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ ! त्यसका लागि यो शब्द फिर्ता लिँदै सधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदछु ! कसैलाई ठेस पु¥याउने नियतवश यो स्टेटस नरहेको जानकारी गराउँदछु १’ उनले लेखेका छन् ।
दलित आयोगले केही दिन अघिमात्रै माफी माग्न सुझाव दिएको थियो । तर, उनले अटेर गर्दै आएका थिए । धरान उप–महानगरपालिकाका प्रमुख राजनीतिक दलहरूले नगरप्रमुख हर्क साम्पाङलाई सामूहिक नेतृत्वको अवधारणामा अघि बढ्न सुझाव दिएपछि उनी आफनो अडानबाट पछि हटेका हुन् । आइतवार विज्ञप्ति जारी गर्दै दलहरुले साम्पाङलाई समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न सुझाव दिएका थिए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङलाई अराजक नबन्न सचेत थिए ।
उनीहरूले हिजोको राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गर्दै हिजोको आन्दोलनमा योगदान नभएका ‘छदमभेषी’ व्यक्तिले अराजकता मच्चाइरहेको आरोप लगाएका थिए ।
