काठमाडौं। नेपाली कांग्रेसले संघीय सरकारमा नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
महतले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको बताए।
गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि कांग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले स्पष्ट पारे।
यस्तै, नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ।
सोमबार वा मंगलबार संसदीय दलको निर्वाचन गराउने गरी सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनेको हो। समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य छन्।