महोत्तरी। भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ।
थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गरे।
मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ। पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेका छन्। तपाईँहरू सङ्ग्रहालयको गुरुयोजना बनाउनुहोस्। म तत्काल कार्यान्वयनमा लैजान्छु।’
थारु समुदायलाई दैनिक क्रियाकलापपछि राजनीतिमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए।
मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिपकुमार चौधरीले सङ्ग्रहालय बनाउन मन्त्रीलाई ज्ञापनपत्र बुझाए।
उनले भने, ‘करिब ८ बिघामा बन्ने सङ्ग्रहालयमा थारु भेषभुषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ। थारु खानाका परिकारहरू उपलब्ध हुनेछन्। यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ। विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ। यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ।’
थारु सङ्ग्रहालय भवन निर्माणको लागि छ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।