ढल्केबर। धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका–१ भुतिही पटेर्वाका अन्दाजी ५५ वर्षीय चन्द्रदीप यादव रहेको प्रहरीले जनाएको छ।
ठक्करबाट शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका यादवको ढल्केबरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३४ वर्षीय लक्ष्मण यादवको अवस्था गम्भीर छ। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ गइरहेको ज १२ प १४९२ नम्बरको मोटरसाइकलाई आइतबार बिहान ठक्कर दिएको थियो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ।