काठमाडौँ । निर्वाचन आयोगले आज शनिबार मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस भएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका अनुसार बागमती सहित अन्य ६ वटै प्रदेशका प्रदेश प्रमुखहरू समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिएको हो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण सहितको प्रतिवेदन पेस गरेको छ ।
आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ ।
बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ ।