चितवन ।विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई रु तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।
मङ्सिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो ।
समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम रु तीन लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ ।