काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार भएको छ। स्वास्थ्यमा सुधार भएपछि उनी एक साताभित्र नेपाल फर्कने बताइएको छ।
उनी फलोअप उपचारका लागि गत १६ मंसिरमा चीन गएका थिए। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि उनी चीन गएका थिए।
सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा पुनको उपचार सुरु गरिएको थियो।
‘उहाँको स्वास्थ्यमा सुधार देखिएको छ,’ पुनको पारिवारिक स्रोतले भन्यो, ‘स्वास्थ्यमा सुधार देखिएसँगै एक साताभित्र नेपाल आउने तयारी छ।’
उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ।
पुनका साथ उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती पनि चीन गएकी छन्।
एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। नेपालबाट जाँदाको भन्दा जण्डिसको मात्रा (बिलरुबिन) घटेको छ।