काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ।
बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणामको विवरण बुझाएका थिए।
आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ। यसअघि, आयोगले बुधवार निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो।
निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ। त्यसैगरी, एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ सिट, जनता समाजवादी पार्टी (जसपा)ले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४ सिट ल्याउन सफल भएका थिए।
२७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा उदाएको छ भने नयाँ शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ।