तनहुँ। तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बुधबार राति साढे ९ बजे श्रीमती ३६ वर्षीया सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुरामा विवाद हुँदा ढुङ्गा प्रहार गर्दा श्रीमान मनबहादुरको मृत्यु भएको जानकारी दिए।
प्रनाउ खड्काका अनुसार ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका मनबहादुरको उपचारको क्रममा बुधबार राति ११ बजे तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।
घटनामा संलग्न श्रीमती सुशीलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।