विराटनगर । विराटनगरमा भोलि (मंसिर २९ गते)देखि पुस ६ गते सम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उद्घाटन गर्ने भएकी छन् ।
विराटनगरमा आयोजना हुने विराट एक्पो विगतमाभन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए । विभिन्न क्षेत्रका ४७५ प्रबर्द्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताए ।
एक्स्पोमा सरसफाई र केही साना कामहरू बाँकी रहेपनि आज रातिसम्म सबै काम पूरा हुने दाबी गरे । एक्स्पोको अवलोकनका लागि तीन लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।