काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ।
आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम मङ्सिर २९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने कार्यक्रम रहेको जानकारी दिए।
त्यस्तै, पुस २ गते दिउँसो १ बजे सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुख समक्ष प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरिने उनले जानकारी दिए।
सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन्।
आयोगले निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा पनि प्रकाशित गरिने बताएको छ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधि सभामा १८४ जना पुरूष र ९१ जना महिला निर्वाचित भए भने प्रदेश सभातर्फ ३५० पुरूष र २०० महिला निर्वाचित भएका छन्।
प्रतिनिधि सभा चुनावलाई ८६ दल दर्ता भएका थिए। प्रत्यक्ष चुनावका लागि ६१ दल र समानुपातिकका लागि ४७ दलले भाग लिएका थिए।