पोखरा। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल विश्व राजनीतिको शिकार भएको बताएका छन्।
संसदीय निर्वाचनमा आएको मत परिणामलाई लिएर पोखरेलले नेपाल विश्व राजनीतिको शिकार भएको बताएका हुन्। प्रेस चौतारी कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले आन्तरिक कारणले मात्र नभइ एसियामै अस्थिर चाहने शक्तिका कारण मुलुकमा अस्थिरता निम्तिएको दाबी गरे।
संसदीय निर्वाचनमा जनताले दिएको जनमतले देशलाई निकास दिन नसक्ने उनले बताए। उनले भने, ‘पश्चिमा संस्कृतिको प्रभावमा परेकाले रवि लामिछाने नेतृत्वको स्वतन्त्र राष्ट्रिय पार्टीलाई मत दिएको देखियो। सनातन हिन्दू धर्म पक्षधरले राप्रपालाई भोट दिए, यसले देशलाई निकास दिँदैन।’
अहिलेको जनादेशले मुलुकमा झन अस्थिरता निम्तिएको उनको भनाइ छ। गठबन्धनप्रति जनताको विश्वास नभएको र एमालेसँग देशको नेतृत्व गर्ने जनादेश नभएकाले मुलुक झन समस्यामा फस्न सक्ने उनको दाबी छ।
उनले अगाडि भने, ‘मुलुकलाई सही ढंगले अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा कार्यगत सहकार्य गर्नुको विकल्प छैन। अहिलेको गठबन्धन रहँदासम्म त्यो सम्भव पनि छैन, यसमा नेपाली कांग्रेस तयार छैन। एमालेले भनेर मात्र हुँदैन।’ देशको राजनीति दुई पार्टीमा धुव्रीकरण नहुँदासम्म स्थायित्व कायम हुन नसक्ने उनले बताए।
तत्काल कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सम्भावना नभएको उनले बताए। उनले गठबन्धनले निकास दिन नसक्ने भन्दै देशको विकास र समृद्धिको लागि बलियो शक्ति नै आवश्यक भएको बारे जनतालाई भनिरहेने बताए। एमालेको नीति र कार्यक्रम राम्रो हुँदाहुँदै पनि जनतालाई बुझाउन नसक्नु कमजोरी भएको उनले स्वीकार गरे।
उनले भने, ‘जनताले एमालेलाई सत्तामा जाने जनादश दिएका छैनन्। एमाले सत्तालाई प्राथमिकतामा राखेको छैन। स्वार्थका लागि एमाले सरकारमा जाँदैन।’
अर्को प्रसंगमा उनले सरकारले राजनीतिक समूहका मुद्दा फिता लिन अध्यादेश ल्याउनुु गलत भएको बताए।