काठमाडौँ । मुग्लिन-नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।
उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले जनाएको छ ।
कठिन भौगोलिक बनावट भएका कारण सडक सुरक्षालाई ध्यानमा राख्दै एप्रोच सडक र पुल निर्माण गर्न सवारी रोक्न लागिएको आयोजनाले जनाएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ जाने खण्डमा चारवटा पुल अप्ठ्यारो पहाड काटेर निर्माण गर्नुपर्ने भएकाले केही समयका लागि सवारी आवागमन बन्द गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
