काठमाडौँ । समानुपातिक सांसद चयनमा आन्तरिक असन्तुष्टि बढेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभातर्फ रास्वपाले समानुपातिकमा १३ सीट पाएको थियो ।
प्रारम्भिक निर्वाचनबाट बन्दसूची तयार गरेपनि वरीयता मिचेर समानुपातिक सांसद छनौट गरिएको भन्दै पार्टीभित्रै विवाद बढेपछि उक्त पार्टीले प्रष्ट्याउन खोजेको हो ।
रास्वपा प्रवक्ता महामन्त्री डा. मुकुल ढकालले एक सूचनामार्फत समानुपातिक उम्मेदवारको छनौट प्रक्रिया तथा आधारबारे जानकारी गराएका छन् । उनले विभिन्न क्लष्टरमा आकांक्षी समानुपातिक उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा रोलक्रममा राख्ने केन्द्रीय समिति बैठकमा छलफल भई बन्दसूची तयार गरी आयोगमा पेश गरिएको बताएका छन् ।
बन्दसूचीमा रहेका केहीले नाम फिर्ता लिएपछि ११० जना पुर्याउन पुछारमा केही नाम थपिएको सूचनामा उल्लेख छ । केन्द्रीय सदस्य महेश्वर घिमिरेको प्रतिवेदनमा उल्लेखित नामलाई मंसिर २४ को केन्द्रीय समिति बैठकमा पेश गरिकोमा गरिएकोमा केही उम्मेदवार समेत रहेका केन्द्रीय सदस्यको असहमतिका बीच बहुमतबाट अनुमोदन गरी आयोगमा बुझाइएको पनि रास्वपाले जनाएको छ ।
घिमिरेले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्दै रास्वपाले को उम्मेदवार किन छनौट हुन सकेनन् भन्ने केन्द्रीय समितिबाट प्रमाणित विवरण पनि सार्वजनिक गरेको छ ।





