काठमाडौँ । नेकपा एमालेले त्रुटि सच्याएर समानुपातिक सांसदको नाम सिफारिस गरेको छ । नाम सच्याउन एमालेलेलाई निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएको थियो । सो समयमा एमालेले नाम सच्याएर बुझाएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।
१ नम्बर प्रदेश र मधेस प्रदेशमा एमालेले क्लटर र क्रम मिचेर नाम सिफारिस गरेको थियो । एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम नम्बर २ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको थियो । अहिले एमालेले माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गरेर बुझाएको छ ।
त्यसैगरी, मधेस प्रदेशमा अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको थियो । यसलाई पनि एमालेले सच्याएर पेस गरेको छ ।
मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको थियो । सच्याएर पहिलो क्रमकै नाम एमालेले सिफारिस गरेको छ ।