काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको बताएका छन्।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको बताएका हुन्।
मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको बताए।
प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनको जानकारी दिए।
मुख्यमन्त्री केसीले भने, ‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ। त्यसको नजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौँ। प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्णरुपमा कार्यान्वयन गरेर सङ्घीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो। यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ। एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौँ।’
मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताए। उनले केही दिनभित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको बताए।