काठमाडौं। काठमाडौंमा सोमबार दिउँसो ट्राफिक व्यवस्था अस्तव्यस्त देखिएको छ।
काठमाडौंका विभिन्न स्थानमा ट्राफिक व्यवस्था अस्तव्यस्त देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
किन ?
काठमाडौंको लैनचौर ब्याङकेट अगाडी सडकमा मेलम्ची खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानिबिभाग, टुकुचा, संग्राहलय दक्षिणगेट, लैनचौर चोकमा सवारी जाम भएको छ।
यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर ब्रिज निर्माण भइरहेका कारण आज पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट चलाइएको छ। उक्त
स्थानको ट्राफिक ब्यवस्थापन सहज बनाउन ट्राफिक प्रहरीले गरेको आग्रहलाई पालना गर्न सम्बन्धति सबैमा अनुरोध गरिएको छ।
सडक पिचको माग राखेर स्थानीयले गरेको अवरोधका कारण थली–साँखु सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ।
यसका साथै बैकल्पिक मार्गको रुपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिनेछ।
नाकाहरूको सवारी आवागमन भने सामान्य तवरले संचालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।