काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन्।
यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका थिए। थापाले अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको उल्लेख गरेका छन्।
उनले यो आफ्नो वा विश्वप्रकाश शर्माको मात्र नभएर नेपाली कांग्रेस पार्टीकै धारणा र मान्यता रहेको दाबी गरेका छन्।
सम्बन्धित समाचारः
अध्यादेश ल्याउने देउवा सरकारको निर्णयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको विरोध
विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको उनले स्मरण गरेका छन्। अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा छलफल र निर्णय नभएको थापाले स्पष्ट पारेका छन्।
उनले भनेका छन्, ‘त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।’
उनले यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट रहेको भन्दै बुँदागत रुपमा प्रष्टिकरण दिएका छन्।
– अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
– अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
– अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।
– अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।