काठमाडौँ । काठमाडौंमा शुक्रबार (भोली)देखि अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । नेपाल रक्तदाता संघको भगिनी संस्था क्लब २५ नेपाल र इन्टरनेसनल फेडेरेसन फर ब्लड डोनरको इन्टरनेसनल युथ कमिटीले 'अन्तर्राष्ट्रिय युवा मञ्च २०२२' गर्न लागेका हुन् । कार्यक्रम लाजिम्पाटस्थित होटल मनास्लुमा हुनेछ ।
‘युवाहरू जीवन बचाउने, राम्रो भविष्यको निर्माण गर्ने कार्यमा युवाहरू’ भन्ने नाराका साथ मंसिर २३ देखि २६ गते (डिसेम्बर ९-१२) सम्म २० औं अन्तर्राष्ट्रिय युवा मञ्च आयोजना गर्न लागिएको क्लब २५ नेपालका अध्यक्ष आर्यन उप्रेतीले बताए । सम्मेलनमा १५ देशका करिब १५० जना सहभागी हुने जनाइएको छ ।
अध्यक्ष उप्रेतीकाअनुसार कार्यक्रम समापनपछि १२ देखि १६ डिसेम्बरसम्म वैकल्पिक पदयात्रा कार्यक्रम पनि हुने छ । कार्यक्रम युवा नेतृत्वलाई प्रवर्द्धन गर्न र विविध पृष्ठभूमिका युवाहरूका लागि समावेशी ठाउँ सिर्जना गर्नमा केन्द्रित हुने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक, काठमाडौं महानगरपालिका केएमसी, ललितपुर महानगरपालिका एलएमसी ब्लड डोनर अमेरिका, हब इन्टरनेशनल एजुकेशन, योगशाला नेपालको सहयोग गरेको छ । नेपाली पब्लिक मिडिया पार्टनरका रुपमा रहेको छ ।