धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसँग जोडिएको पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
धनगढीमा आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाका लागि निर्माण कम्पनीले अनुमतिपत्र (लाइसेन्स) लिइसकेकाले आयोजनाको निर्माण प्रक्रिया चाडै अघि बढ्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री देउवाले जलविद्युत आयोजनासँगै रानी जमरा कुलरिया तथा महाकाली सिचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढाइरहेको उल्लेख गर्दै ती आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेशमा समृद्धि आउने बताए।
प्राकृतिक सम्भावनाको पहिचान गरी सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, उद्योग, व्यापार मार्फत आर्थिक समृद्धि ल्याउन सकिने भएकोले उनले विकासका लागि प्रदेश सरकार र स्थानीय तहका बीच समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिए।
प्रधानमन्त्री देउवाले कोरोनाले थलिएको उद्योग व्यवसाय क्षेत्रको पुनरुत्थानका लागि सरकारले लागिपरेको उल्लेख गर्दै यस क्षेत्रलाई आर्थिक हवका रुपमा विकास गर्न जरुरी रहेको बताए।
सुदूरपश्चिमको कृषि, पर्यटन, आर्थिक, सामाजिक विकासका लागि महोत्सवले थप टेवा पुग्ने बताउँदै उनले सङ्घले अघि सारेका मागप्रति सरकार गम्भीर रहेको बताए।