धनगढी । सुदूरपश्चिम प्रदेश महोत्सवको तयारी पुरा भएको छ । प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबर्द्धनका लागि हुँदै आएको महोत्सवको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना हुन लागेको महोत्सवको यो १६औं संस्करण हो।महोत्सव समुदघाटन अघि धनगढी ट्राफिक चौराहदेखि महोत्सव स्थलसम्म झाँकीसहित प्रभात र्याली निकालिने उनले बताए।
महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका रहेको छ। महोत्सवको उद्घाटन बिहीबार २ बजे हुने अध्यक्ष कुँवरले बताए।महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा कृषि, घरेलु उत्पादन, कला, संस्कृति लगायतका प्रदर्शनीहरु पनि राखिएको छ। यस वर्ष चार सय स्टल रहनेछन्। यस्तै सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे मागसहित १५ किलो माला लगाउने तयारी आयोजकले गरिरहेको छ।
महोत्सव सुरुवातदेखि विभिन्न माग राख्दै प्रमुख अतिथिलाई माग बरारबरका बुँदा अनुसारको माला लगाइने गरिएको छ। २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइने महासचिव ओम विष्टले बताए।
उनले २१ बुँदाबाट केही माग पूरा भइसकेको र अपूरो बुँदा अनुसार प्रधानमन्त्रीलाई माला लगाइने बताए।प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रदर्शनीस्थलको व्यवस्था, आइटी हब लगायतका १५ देखि १७ बुँदे माग हुन सक्ने बताए। उनले अहिले बुँदाहरु तयार गरिरहेको बताए।
सुदूरपश्चिम महोत्सवबाट बिक्री हुने प्रति टिकटको पाँच रुपैयाँ जिल्ला विपद कोषमा जम्ममा गरिनेछ।सुदूरपश्चिम महोत्सवलाई ‘एक रुपैयाँ अभियान’ले पनि चिनाउने गरेको छ। २०६३ सालमा महोत्सव सुरुवात गर्दा धनगढी विमानस्थल स्तरोन्नतिका लागि एक रुपैयाँ अभियान सुरु गरिएको थियो। महोत्सवको १६ औं संस्करणमा पुग्दा पाँच रुपैयाँ बनाइएको छ।
महोत्सवमा बिक्री हुने प्रति टिकटबाट संकलन भएको पाँच रुपैयाँ विपद कोषमा जम्मा गरिने अध्यक्ष कुँवरले बताए। कैलाली बाढी, डुबान तथा पहिरो, आगजनी, भूकम्प लगायतको जोखिम क्षेत्रमा रहेको छ। सो कारण प्रति टिकट पाँच रुपैयाँ कोषमा जम्मा गरिने उनले बताए।