दार्चुला । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने नेपाल–भारतका अधिकारीबीच समहमति भएको छ । बुधबार भातको धारचुलास्थित एनएच पिसीमा सम्पन्न दुवै देशको अधिकारीबीचको सीमा समन्वय बैठकले महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति गरेको हो ।
भारतीय पक्षले महाकाली नदीको बहाव दार्चुलातर्फ फर्किने गरी तटबन्ध सुरु गरेपछि विवाद सृजना भएको छ । सो विवाद समाधान गर्ने उद्देश्यका साथ बसेको सीमा समन्वय बैठकले सहमति गरेको हो । मंगलवार परराष्ट्र मन्त्रालमयले महाकाली नदीको विवाद समाधान गर्नका लागि भारतलाई कुटनीतिक नोट पठाएको थियो । सोही नोटलाई आधार मानेर दुवै देशका अधिकारीबीच सीमा समन्वय बैठक बसेको जनाइएको छ ।
बैठकमा उत्तराखण्डकी डीएम रीना जोशीले महाकाली नदीलाई पुरानै अवस्थामा फर्काउनका लागि दुवै देशका इन्जिनीयरहरुको संयुक्त अनुगमन गरिने बताइन । उनले तटबन्ध निर्माणका कारण उत्पन्न विवादलाई धेरै ठूलो नबनाइ सामान्य रुपमा लिने सहमति भएको उल्लेख गरिन ।
यसैगरी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले यो बैठक निकै आवश्यक रहेको बताए ।महाकालीको बहाव बीच भागमा हुनु पर्ने भन्दै यनले विवाद हुने ठाउँमा काम अगाडि नबढाइ तत्काल बैठक बसेर समस्या समाधान गर्नु पर्ने बताए । भारतीय पक्षले काम सके वा नसके पनि मनसुन सुरु हुनु पूर्व नै महाकाली नदीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने कुरामा छलफल भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले बैठक सकारात्मक भएको उल्लेख गरे ।
बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्यायको नेतृत्वमा सशस्त्र प्रहरी दार्चुलाका गणपति डम्मर विष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डेय महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करनसिंह धामी सहभागी थिए । यसैगरी, भारतकोतर्फबाट डीएम जोशी, एसडीएम दिवेश सासनी लगायतको उपस्थिति थियो ।