गण्डकी। कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारीले पोखरा–१८ जामुनाबोटमा पुगेर स्व. रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरेकी छन्।
प्रतिनिधि सभा सदस्यमा विजयी भएसंगै उनले जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन्।
२०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई यसपटक दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचिन भएकी छन्।
सो अवसरमा निर्वाचन क्षेत्र २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्कीलगायत एमालेका नेता तथा कार्यकर्ताले स्व. रविन्द्रको शालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरे।
त्यसैगरि उनीहरुले आजै पोखरा–१६ बाटुलेचौरस्थित जननेता मदन भण्डारी र जिवराज आश्रितको अर्धकदको शालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भिमसेन दाहाल, मुस्ताङचोकस्थित कम्यूनिष्ट नेता चित्रबहादुर गुरुङ, पोखरा–७ राष्ट्र बैंकचोकस्थित सहिद झपिन्द्र कार्कीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरे।