सुर्खेत । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो दल बनेको एमालेले यसपल्ट प्रतिनिधिसभाका सबैजसो सिट गुमाएको छ । ०७४ मा १२ मध्ये ६ सिट जितेर पहिलो भएको एमालेले यसपटक सबै ठाउँमा हार बेहोर्ने निश्चित भएको हो ।
मतगणना भइसकेका जिल्लामा एमालेले प्रतिनिधिसभामा कुनै ठाउँ जितेन भने गणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता कमजोर छ ।
यसअघि दैलेखका दुवै क्षेत्र जितेको एमालेले अहिले दुवै सिट गुमाएको छ । ०७४ मा क्षेत्र १ मा रवीन्द्र शर्मा र २ मा राजबहादुर बुढा विजयी भएका थिए । यसपालि शर्मालाई उनकै पूर्वसहकर्मी एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्बरबहादुर थापाले पराजित गरे ।
थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा शर्माले १७ हजार ४ सय ३७ मत पाए । क्षेत्र २ मा पनि कांग्रेसका दिक्पालकुमार शाही थोरै मतान्तरले निर्वाचित भएका छन् । उनले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेल २० हजार ५ मत ल्याएर पराजित भए ।
यसअघि सुर्खेतका दुवै क्षेत्र जितेको एमालेले यसपटक दुवै गुमाएको छ । सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मत ल्याउँदै विजयी भएका छन् । एमालेका ध्रुवकुमार शाहीलाई उनले ११ हजार ६ सय १९ मतान्तरले पराजित गरेका हुन् ।
शाहीले ३० हजार ९ सय ८८ मत ल्याएका छन् । सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित विजयी हुँदा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसी ५ हजार ६७ मतान्तरले पराजित भएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थानीले यसपटक गठबन्धनको बलमा जित निकालेका हुन् ।
डोल्पामा गत निर्वाचनमा एमालेबाट जितेका धनबहादुर बुढा यसपालि एकीकृत समाजवादीमा छन् । उनले एमालेका गणेशबहादुर शाहीलाई भारी अन्तरले पराजित गरेका छन् । बुढा ११ हजार २ सय २५ मतसहित विजयी हुँदा उनकै पूर्वसहकर्मी शाहीले ५ हजार ४ सय ९८ मतमा चित्त बुझाए । यसअघि मुगुबाट एमालेका गोपालबहादुर बमले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए ।
अहिले त्यहाँ पनि एमाले पछाडि छ । बिहीबार राति ९ बजेसम्म कांग्रेसका ऐनबहादुर शाही ठकुरी ५ हजार २ सय ५५ मतसहित अघि रहँदा एमालेका राजबहादुर कार्कीले ४ हजार २ सय ४४ मतसहित उनलाई पछ्याइरहेका छन् । मतगणना गर्न बाँकी रहेका कालीकोट, हुम्ला र रुकुम पश्चिम माओवादीका प्रभाव क्षेत्र मानिन्छन् ।