पोखरा। मतगणनास्थलमा छिरेका नेपाली कांग्रेसका एक जना नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेश सभाको मत गणना गर्ने घेराभित्र पुगेका कांग्रेसका मोहन बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बास्तोला पोखरा–११ को निवर्तमान वडाध्यक्ष हुन्।
सुरक्षाकर्मीको नियन्त्रणमा रहेका बास्तोलाले कांग्रेसका जिल्ला नेताले दिएको पास लगाएको बताए।
बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेका प्रतिनिधिले विरोध गरेका थिए। उनले लगाएको गणकको कार्ड जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारीको रहेको पाइएको छ।