काठमाडौं। काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले १२५ मतको झिनो अन्तरले पराजित हुँदा दुखी भएको बताएका छन्।
कांग्रेसका प्रकाशमान सिंहसँग पराजितपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले १२५ मतको झिनो अन्तरले पराजित हुँदा दुखी भएको बताएका हुन्। तर, समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उनले बताएका छन्।
उनले ५ वर्षको उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई टुट्न नदिने प्रतिवद्धता जनाएका छन्।
उनले मतदाताप्रति आभार प्रकट गर्न आफ्ना मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं १०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्ने विश्वस्त उनले गरेका छन्।
उनले निर्वाचनमा विजयी सिंहलाई बधाई तथा शुभकामना दिँदै आगामी कार्यकालमा समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।