काठमाडौं। अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य दिएको छ।
एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो।
भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३, विराट कोहलीले ५०, कप्तान रोहित शर्माले २७, सूर्यकुमार यादवले १४ रन बनाउँदा ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३, क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए।
भारत र इंग्ल्यान्डबीचको विजेताले उपाधिका लागि फाइनलमा पाकिस्तानसँग खेल्नेछ।
पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ। फाइनल खेल आइतबार हुनेछ।