काठमाडौं। विभागीय टोली नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।
मधेशले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो। एपीएफको जितमा लोकेश बमले अविजित ३५ रन बनाए। प्रदीप ऐरीले ३३, आसिफ शेखले २५ र सुमित महर्जनले १३ रन बनाए। बलिङमा मधेशका रुपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २२ रन बनाएको थिया । मधेशका लागि रुपेश सिंहले अविजित ३६ रन बनाए। सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदिल आलमले ११ र राजेश यादवले १० रन बताए।
बलिङमा एपीएफका कमल ऐरीले चार विकेट लिए। कमल ‘म्यान अफ दि म्याच’ घोषित भए। भुवन कार्की र मौसम ढकालले दुई दुई विकेट लिए।
उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। आर्मी र पुलिसबीच शुक्रबार अर्को सेमिफाइनल खेल हुनेछ।