काठमाडौं। न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ। पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो।
बुधबार पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।
१५३ रनको लक्ष्य पाएको पाकिस्ताले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसका ओपनर मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद हरिसले ३० रन बनाए। न्युजिल्यान्डकाट्रेन्ट बोल्टले २ विकेट लिए।
यसअघि टस जितेको न्युजिल्यान्डका डर्याल मिचेल सर्वाधिक ५३ रनमा अविजित रहँदा कप्तान केन विलियम्सनले ४६, डेभन कन्वेले २१ र जेम्श निसमले अविजित १६ रन बनाए।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट लिए।
पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो। बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ।