काठमाडौँ । बंगलादेशले ट्वान्टी-२० विश्वकपमा सोमबार विजयी सुरुवात गरेको छ । उसले सुपर–१२ को ग्रुप–टुको खेलमा नेदरल्यान्ड्सलाई ९ रनले पराजित गर्यो । जितका लागि १ सय ४५ रन पछ्याएको नेदरल्यान्ड्सले २० ओभर सबै विकेट गुमाएर १ सय ३५ रन बनायो ।
नेदरल्यान्ड्सले १५ रन बनाउँदासम्म चार विकेट गुमाएको थियो र त्यसयता जितका लागि बलियो चुनौती पेस गर्न सकेन । नेदरल्यान्ड्सका लागि कोलिन एकरमनले ४८ बलमा ६२ रन बनाए । उनले छ चौका र दुई छक्का प्रहार गरे ।
बंगलादेशी बलरमध्ये तास्किन अहमद सर्वाधिक सफल रहे । उनले २५ रनमा चार विकेट लिए र उनी ‘प्लेयर अफ द म्याच’ भए । हसन मसुदले पनि दुई विकेट लिए । नेदरल्यान्ड्सले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
त्यसक्रममा बंगलादेशले आठ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका लागि आफिफ हुसेनले बनाएको ३८ रन नै सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो । नजमुल हुसेनले २५ रनको योगदान दिए । डच बलरमध्ये पउल भान मेकरेन र बास डि लेडले दुई-दुई विकेट लिए ।