काठमाडौं। कात्तिक ४ गते । काठमाडौं क्षेत्र नं ४ मा सङ्घीय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई सहयोग गर्ने भएका छन्।
क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरू, मतदाता र युवा वर्गहरूसँगको विभिन्न चरणको भेटघाट, छलफलमार्फत आसन्न निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र थापालाई सहयोग गर्ने निर्णय अनुसार उम्मेदवारी मनोनयन दर्ता नगरी थापा जिताऊ अभियानमा लागेको चन्दले बताए।
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन्।
चन्दले महामन्त्री थापामा भएको कमी कमजोरीलाई आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नम्बर ४ का लागि जनताको भावना अनुरूप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र सङ्कटमा रहेको संसदीय प्रणालीलाई सुधार गरी देश र जनताको हितमा काम गर्ने उनको बचनबद्धताको कारणले निर्वाचनमा थापालाई पूर्ण साथ सहयोग गर्ने बताए।