काठमाडौँ । वाग्मती प्रदेश आइतबार लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई ८ विकेटले हराउँदै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
यससँगै महिला क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ ।वाग्मती समूह ‘ए’को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । यस समूहबाट सशस्त्र प्रहरी बल (एपीएफ) विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
एपीएफले आजै सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको थियो ।
वाग्मतीले अब समूह ‘बी’को विजेता नेपाल पुलिस क्लबसँग तथा एपीएफले समूह ‘बी’ उपविजेता लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मधेस प्रदेशले १८.२ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो । ५५ रनको लक्ष्य वाग्मतीले १३.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
मधेसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान शान्ती चौधरीले बनाएको ८ रन नै मधेसको इनिङ्समा बनेको सबैभन्दा ठूलो स्कोर हो । मधेसले १९ अतिरिक्त रन पाएको थियो । वाग्मतीका विपिशा शाही, सोनी पाख्रिन र खुशी डंगोलले समान दुई दुई विकेट लिए ।
५५ रनको लक्ष्य पूरा गर्नेक्रममा वाग्मती प्रदेशका अनिशा मझकोटी १६ र सुमन खतिवडा १७ रनमा अविजित रहे । अश्मिता खरेलले १३ रन जोडिन् । कञ्चन श्रेष्ठले पाँच रन बनाइन् । मधेशकी सरस्वती कुमारी र कविता गौतमले एक एक विकेट लिए ।
पोखरा रंगशालामा आजै सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
एपीएफका इन्दु वर्माले ४५ रन बनाइन् । ओपनर ज्योती पाण्डेले ११ रन बनाउँदा रोमा थापा ११ रनमै अविजित रहिन् । अन्यले दोहोरो अंकमा रन बनाएनन् । सुदूरपश्चिमका मनिषा चौधरी, अनु कडायत, डोली भट्ट र स्नेहा महाराले एक एक विकेट लिए ।
त्यसअघि, सुदूरपश्चिमका लागि रितु कनौजियाले अविजित ३५ रन बनाएकी थिइन् । रुबी पोदारले २३ रन बनाउँदा स्नेहा महराले १८ रन जोडिन् । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एपीएफकी नेरी थापा, इन्दु र सुष्मा श्रेष्ठले एक एक विकेट लिए ।