काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे । खेलको सातौं मिनेटमा फुओङले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
१२ औं मिनेटमा सनले गोल गर्दै भियतनामको अग्रता दोब्बर बनाए ।खेलको १६ औं मिनेटमा थुओङले गोल गरेपछि घरेलु टोली ३-० ले अघि रह्यो ।
२९ औं मिनेटमा भुले गोल गर्दै भियतनामलाई पहिलो हाफमा ४-० गोलको अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा भानले गोल गर्दै भियतनामलाई ५-० को जित दिलाए ।यस हारसँगै नेपालको यू-१७ एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ ।
यस अघि छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।भियतनामको यो लगातार दोस्रो जित हो । भियतनामले पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।