धनगढी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ। गत भदौ ३१ ग्तेदेखि सुरु भएको छनोट प्रतियोगिता आज सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुस्तीलगायतका खेलहरुका लागि खेलाडीहरु छनोट भएका छन् । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिएको छ । प्रदेश स्तरीय छनोट प्रतियोगितामा झण्डै तीन हजार खेलाडीहरुले सहभागीता जनाएका थिए । उनीहरुबाट नवौ राष्टिय खेलकुद प्रतियोगिताका लागि सुदुरपश्चिमबाट झण्डै सात सय खेलाडी छनोट भएका छन् ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिदैछ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।