काठमाडौं। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ।
टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो।
आर्मीका कप्तान विनोद भण्डारीले १४ बलमा ४०, रोहित पौडेलले १० बलमा २८, कुशल मल्लले १३ र भीम सार्कीले ११ रन बनाए।
पुलिसका गुलसन झा र ललितनारायण राजवंशीले २–२ तथा राशिद खान र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
१ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाई पूरा गर्यो।
पुलिसलाई राष्ट्रिय खेलकुदमा पहिलो पटक क्रिकेटतर्फ स्वर्ण जिताउन कुशल भुर्तेलले १९ बलमा ५१ र सुनिल धमालाले नटआउट ४१ रन बनाए।
सो क्रममा भुर्तेलले १७ बलमा अर्धशतक प्रहार गरे भने पहिलो विकेटका लागि धमला र भुर्तेलले ५.३ ओभरमा ९२ रनको विष्फोटक साझेदारी गरे। भुर्तेल प्लेयर अफ दी म्यान पनि बने ।
आर्मीका जितेन्द्र मुखिया र सुशान भारीले १–१ विकेट लिए।
आजै भएको खेल रद्द भएपछि सुदूरपश्चिमले कास्य पदक हात पारेको छ। एनआरएनसँगको खेल वर्षाका कारण सम्भव नभएपछि टस जितेको टोली सुदूरपश्चिम कास्य पदक जित्न सफल भएको थियो।